पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

15

पर्सा, १३ माघ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रूपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रूपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रूपैयाँ मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रूपैयाँ मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै, १४ अर्ब ७९ करोड रूपैयाँको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...