- नारायण न्यौपाने
काठमाडौँ, २३ मङ्सिर । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।
दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो । “जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भन्नुभयो, “त्यहीँ दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।”
दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्नुहुन्थ्यो । छोराहरु निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाउनुभएको थियो । सानै भएपनि श्रीमतिलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फुल्दो थियो ।
गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै हुनुहुन्थ्यो । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिनुभयो । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिनुभयो । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उहाँले छोराहरुलाई खाना खुवाएर विद्यालय पुर्याउनुभयो ।
बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर “छोराहरुलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु”, भन्नुभयो ।
छोराहरु स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुग्नुभयो । ठिक त्यहीबेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उहाँको कुम हुँदै बाहिरियोे । दिलनारायण त्यहीँ ढल्नुभयो ।
एक्कासि मध्यान्ह ३ बजेतिर श्रीमान्कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उहाँ आत्तिँदै अस्पताल पुग्नुभयो । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उहाँको पनि शव रहेछ । उहाँले श्रीमान्को शव हेर्न सक्नुभएन । “त्यसपछि म आफैँ बेहोसझैँ भएछु”, उहाँले भन्नुभयो, “मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।”
मजदुरी गरेपनि दिलनारायण राजनीतिक रुपमा सचेत हुनुहुन्थ्यो । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो हुनुहुन्थ्यो । तत्कालीन् नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिनुभएका उहाँ विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान जानुभएको थियो ।
बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुग्नुभएको थियो । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिल नारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।
होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिल नारायणप्रति आकर्षित हुनुभयो । अनि झागिँदै गएको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।
गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरु कामठाडौँ सहर पसेका थिए । तर, आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाउनुभयो ।
आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिनुहुन्थ्यो । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो । बुद्धिमाया भक्कानिँदै भन्नुहुन्छ, “हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।”
अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उहाँले भन्नुभयो, “देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।” ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।
सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याउनुभएका दिलनारायणलाई उहाँका छोरा सोहनले बिर्सने कुरै भएन । “राम्रोसँग पढ, डाक्टर हुनुपर्छ”, भनेर बुवाले भन्नुभएको वाक्य अझै सोहनको कानमा गुञ्जिरहेको छ ।
दिल नारायणलाई सम्झँदै दाजु विद्यासागर भन्नुहुन्छ, “च्यासलमा पछिल्लो समय डकर्मीको काम गथ्र्यो, साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।”
जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गर्नुभएका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख रूपैयाँ र काजक्रिया बापतको रकम उहाँले प्राप्त गर्नुभएको छ ।
उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पूरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ । –रासस
यो पनि हेर्नुहोस्
जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’
जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति
जेनजी आन्दोलनका सहिद : आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’
जेनजी आन्दोलनका सहिद : अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै
जेनजी आन्दोलनका सहिद : सन्तान गुमाउँदाको असह्य पीडा
जेनजी आन्दोलनका सहिद : ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई
जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…
जेनजी आन्दोलनका सहिद : ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी
जेनजी आन्दोलनका सहिद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता
जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”
जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
जेनजी आन्दोलनका सहिद : जेनजी सहिद परिवारको माग- दोषीमाथि अविलम्ब कारबाही होस्
जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल
जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु
जेनजी आन्दोलनका सहिद : उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना
जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी
जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो
जेनजी आन्दोलनका सहिद : परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार
जेनजी आन्दोलनका सहिद : परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन
सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्
जेनजी आन्दोलनका अमर प्रहरी राय
जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ- ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ