बर्दिया, २३ असोज । बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भइ २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एञ्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नम्बर ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्वीकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताउनुभयो ।
उहाँका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलालीसम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एञ्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्वीकारेका छन् । मारिसकेपछि शव छिट्टै सडोस र नेचुरल देखियोस् भनेर नांगै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भइसकेपछि बलत्कारको प्रयास गरेको समेत स्वीकारेको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोष्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो ।
हत्या आरोपी तिरुवालाई आजै बर्दिया आदालतमा उपस्थित गराइ पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिइ सोधपुछ गरिएको थियो । आज नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।
बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरिक्षक मदन बहादुर गुरुङले बताउनुभयो ।
गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका–५ गणेशपुर स्थित आफन्तको घरमा बैवाहिक कार्यक्रममा सहभागी हुने गएकी थिइन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटोबाटै उनी सम्पर्कविहीन भएकी थिइन् ।
बालिका घर नफर्केपछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए । बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।