अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि ८ जना प्रहरी नियन्त्रणमा

72

सिरहा, ७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँनजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको छ ।

“हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भन्नुभयो,“दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।”

उहाँका अनुसार आज बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो ।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए । रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Share This:
सम्बन्धित खबर
Loading...