सिरहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या

73

सिरहा, ७ असोज । सिरहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताउनुभएको छ । उहाँका अनुसार मधेस प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सुक्ष्म अनुसन्धान भइरहेको छ ।

अभिषेक असोज ५ गते राति ८ः३० बजे खाना खाएर घर बाहिर निस्केपछि बेपत्ता भएका थिए । भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव भए नभएको आफन्तले बताएका छन् ।

७ वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए । उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्याक्टर चलाउने गरेका थिए ।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।

“रातभरि खोजतलास गरियो तर मेरो नाति फेला परेन । भोलिपल्ट बिहान ८ बजे अभिषेककी आमाको इमो आइडीमा हिन्दीमा लेखिएको सन्देश आयो । ५ करोड रुपैयाँ लिएर आउनु अभिषेक सुरक्षित छ, हाम्रो कब्जामा छ । त्यसपछि मेरो नाति अपहरणमा परेको छ भनेर थाहा भयो,” मृतकका हजुरबुवाले भन्नुभयो, “हामीले तत्कालै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दियौँ । तर, प्रहरीले पनि खोजी र जीवित उद्धार गर्न सकेन ।” –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...