जेनजी सहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

45

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जसस्रोत तथा सिँचाइ, यातायात तथा भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताउनुभएको छ ।

मंगलबार पशुपतिमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा जेनजी युवा पुस्ताका भाइहरुले सुरु गरेको आन्दोलनले एउटा ठुलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठुलो योगदान दिनुभएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले साकार पार्नुपर्ने छ । उहाँहरुले उठाउनुभएको विषयलाई आगामी सरकारहरुले पनि लिएर अगाडि बढ्नुपर्ने छ । उहाँहरुले धेरै कुरा उठाउनुभएको थिएन देशमा भ्रष्टाचार हुनु हुँदैन, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरतातर्फ लानुपर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नुपर्छ ।”

यस्तै, उहाँले देशलाई सहि दिशातर्फ लानका लागि गम्भीर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताउनुभयो ।

आगामी दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...