बैङ्क परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

22

खोटाङ, १० भदौ । बैङ्क परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैङ्क परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन् ।

पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैङ्कले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नम्बर ८ दोर्पाबुवालुङमा नबिल बैङ्क र वडा नम्बर ११ खार्मीमा एनआइसी एसिया बैङ्कले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन १ गते नगरपालिका र बैङ्कबीच सहमति भएको थियो । तर, बैङ्कहरू कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखित रूपमा बैङ्कलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क टुङ्गो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन् । भत्ता वितरण गर्ने बैङ्क टुङ्गो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैङ्कले अनिवार्य राष्ट्रिय परिचयपत्र लागु गरेपछि झनै समस्यामा परेका छन् ।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाउनुभयो ।

अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर, सामाजिक सुरक्षाभत्ता तथा बैङ्किङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैङ्कले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...