तिजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ : उपसभामुख राना

20

काठमाडौँ, १० भदौ । उपसभामुख इन्दिरा रानाले तिज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तिजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उहाँले भन्नुभयो, “हरितालिका तिजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”

भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ । सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तिजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान छ । पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...