पूर्वीनाका काँकरभिट्टबाट १९ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात

20

भद्रपुर, ८ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी उक्त अवधिमा दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटिएफ र २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...