दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

60

ओसाका, २५ असार । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।

समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत् आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ । कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ ।

दोलखा समाज जापानका अध्यक्ष सञ्जिव पोखरेलले भन्नुभयो, ‘हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित राख्न चाहन्छौँ । अक्षय कोष स्थापनाले दीर्घकालीन रुपमा आवश्यक परेको बेला सघाउने हाम्रो सपना साकार हुँदै छ ।’

समाजको हालै सम्पन्न बार्बिक्यू कार्यक्रम तथा अक्षयकोष निर्माणार्थ सहायोग होस् भन्ने हेतुले कोष समाजका अध्यक्ष पोखरेलले ५ लाख जापानी येन रकम सहयोग गरिसक्नुभएको छ भने समाज संस्थापक अध्यक्ष एवम् हालका संरक्षक नवराज थापाले प्रत्यक वर्ष वैवाहिक वर्षगाँठको अवसर पारेर एकलाख जापानी येनका दरले १० वर्षसम्म निरन्तर कोषमा जम्मा गर्न प्रतिवद्धता गर्नुभएको छ । साथै समाजका सचिव तिलकराज खतिवडाले ५० हजार जापानी येन रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

कोषमा हालको चरणमा सदस्यहरूको नियमित योगदान, शुभेच्छुकहरूको सहयोग र जापान तथा नेपालस्थित संघसंस्थाहरूको सहकार्यबाट कोष संकलन गरिने छ । साथै, कोष पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गरिने जानकारी दिइएको छ ।

दोलखा समाज जापानले विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कोरोना महामारी, भूकम्प पीडित सहायता र शैक्षिक कार्यक्रमहरूमा समाजको सक्रियता उल्लेखनीय रहँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...