काठमाडौँ, १५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
बिहीबार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिनुहुँदै उहाँले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको भन्दै शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएको धारणा राख्नुभयो ।
साथै उहाँले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
उहाँले आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।