काठमाडौँ, २ जेठ । राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामतिसम्बन्धी विधेयक पारित भएको छ ।
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
साथै उहाँले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ । यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
त्यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाउनुभयो । सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे ।