लायन्स कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

32

पोखरा, २० वैशाख । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारे पनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपिएफ पनि सेमिफाइनल पुगिसकेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपिएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह बीको उपविजेता टिम त्रिभुवन आर्मीबीच हुने छ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुने छ ।

दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ उपविजेता टोली एपिएफबीच हुने छ । उक्त खेल दिउँसो ३ बजे सुरु हुने छ । फाइनल खेल सोमबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...