- आकांक्षा धामी
काठमाडौँ, १४ वैशाख । सायद नाताको परिभाषा रगतले मात्र होइन, कर्मले पनि निर्धारण गर्छ । आमाबुवा गुमाएका, वा समाजको आँखाबाट हराएका थुप्रै बालबालिकाहरूका लागि एउटा नाम छ- दिक्षा चापागाईं ।
उहाँ ‘कर्मकी आमा’ हुनुहुन्छ । जन्म दिनेले छाडे पनि, कर्म दिनका लागि अंगाल्नुभएको छ । ममताको एउटा यस्तो काख जुन रक्तसम्बन्ध भन्दा गहिरो छ । समाजसेवामा सक्रिय दिक्षाले अहिलेसम्म थुप्रै बालबालिकाको जीवन बदलिदिनुभएको छ। तीमध्ये तीन छोरीहरू— अंकिता नेपाल, अनु क्षेत्री र आशा राई दिक्षाको काखमा हुर्किएका जीवित कथाहरू हुन् । जसले उहाँप्रति सम्मान, प्रेम र कृतज्ञताको भाव बोकेका छन् ।
पवित्र समाज सेवा नेपालकी संस्थापक दिक्षा चापागाईं नामले भन्दा कर्मले चिनिने एक समाजसेवी हुनुहुन्छ । उहाँले कोही नहुँदाको पीडा बुझ्नुभयो, अनि त्यो पीडा अरूलाई नहोस् भन्ने प्रण गर्नुभएको छ । कोही आमाबुवा गुमाएर बेसहारा हुँदा, कोही गुमनाम अतीत बोकेर अनिश्चित भविष्यतर्फ लम्किँदा उहाँ एक ढाल भएर अघि सर्नुभएको छ– आमा बनेर ।
दिक्षा मामु नै मेरो संसार हो : अंकिता नेपाल
अंकिता नेपाल अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँको विगत धुंधले छ, तर भविष्य भने स्पष्ट छ । त्यो दिक्षा मामुको कारणले सम्भव भएको हो । ‘मलाई गुफाबाट ल्याउनुभएको हो रे, अंकिता सम्झनुहुन्छ । ‘हुम्ला मेरो जन्मथलो होला भन्ने सुनेकी छु तर त्यहाँको केही याद छैन, कोही आउने पनि छैन जस्तो लाग्छ ।’
उहाँको आवाजमा वेदना लुकेको छ, तर दिक्षा मामुको मायाले त्यो वेदनालाई विश्वासमा रूपान्तरण गरेको छ ।
‘दिक्षा मामु नभएको भए, मलाई संसार कस्तो हुन्छ भन्ने थाहा हुन्न थियो,’ उहाँ भन्नुहुन्छ, ‘उहाँ नै मेरो संसार हुनुहुन्छ ।’
बुवा–आमा नभए पनि मामु नै मेरो सबैथोक हो : अनु क्षेत्री
अनु क्षेत्री, अहिले स्नातक तहको पहिलो वर्षमा पढ्नुहुन्छ । म कर्णालीको हुँ रे,’ उहाँले भन्नुभयो, ‘तर म कहाँबाट कसरी यहाँ आएँ, केही थाहा छैन ।’ सामाजिक जीवनको दैनिक दृश्यहरूले उहाँलाई कहिलेकाहीँ आन्तरिक रुपमा पिरोल्छ ।
उहाँ भन्नुहुन्छ, ‘कोही बाबुको हात समाएर हिँडेको देख्दा, मलाई पनि रहर लाग्छ– काश १ मेरो पनि बुबा हुन्थे भने म पनि त्यसरी हिँड्न पाउँथेँ होला ।’
तर, त्यो अभावलाई ‘मामु’को प्रेमले पूर्ति गरेको छ । ‘हामीले मामुलाई आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन सम्झन्छौँ । सानो कुराले पनि उहाँ खुसी हुनुहुन्छ ।’
शब्दले व्यक्त गर्न नसकिने माया : आशा राई
आशा राई, अहिले स्नातकको पहिलो वर्षमा हुनुहुन्छ । उनी साढे १ वर्षकी हुँदा दिक्षा मामुले उहाँलाई काठमाडौँ ल्याउनुभएको थियो ।
‘मलाई केही थाहा छैन,‘आशा भन्नुहुन्छ, अहिलेसम्म कोही ‘आफ्नो’ भनेर आएको छैन । ‘फोटो भए पनि हेर्न मन थियो आमाबुबाको, कस्तो हुनुहुन्थ्यो होला भनेर ।’
तर, आशा आज सशक्त हुनुहुन्छ– किनभने उहाँले ‘मामु’को मायामा आफूलाई फेरि जन्मिएको महसुस गर्नुभएको छ । उहाँले जति गर्नुभयो, आफ्नै बुबाआमाले पनि त्यति गर्न सक्नुभएन होला । उहाँ नै मेरी आमा, उहाँ नै मेरा बाबा भएको उहाँ भन्नुहुन्छ ।
कर्मकी आमा दिक्षा
दिक्षा चापागाईंका लागि समाजसेवा कुनै पेशा होइन, त्यो त जीवनको उद्देश्य हो । उहाँले आफ्ना छोरीहरूलाई ’सिर्जना’ मात्र नुभएको छ छैन, ‘पहिचान’ पनि दिनुभएको छ । उहाँको मायाले ती छोरीहरूको जीवनमा उज्यालो भरेको छ ।
दिक्षा भन्नुहुन्छ,‘यी मेरा रक्तसम्बन्धी होइनन्, तर आत्मासम्बन्धी हुन् । मैले जन्म दिएकी होइन, तर कर्म दिएकी हुँ ।’
आज, अंकिता, अनु र आशा मात्र होइन, यस्ता थुप्रै बालबालिकाहरू दिक्षाको काखमा सुरक्षित छन् । उनीहरूको उज्यालो भविष्यको कारण एकजना महिला हुन्— जसलाई उनीहरू ‘मामु’ भन्छन्, तर वास्तवमा उनीहरूका लागि पूरा संसार’ हुन् दिक्षा चापागाईं ।
बुढानिलकण्ठ नगरपालिका–४ मा रहेको टोखा बजार माथि रहेको पवित्र समाज सेवा नेपाल दिक्षाले सञ्चालन गरिरहेको आश्रय स्थल हो । -नेपाल न्यूज बैंक