काठमाडौँ, १७ चैत । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।
आइतबार पुरातत्व विभाग काठमाडौँले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।
विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।
यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभइ हाम्रा आस्थाहरुलाई, विश्वासहरुलाई, सम्पदाहरुलाई फर्काउन सफल भएको बताउनुभयो ।
उहाँले नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्त्व, आम सम्पदाको महत्त्व, संस्कृतिको महत्त्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्त्व, आम सम्पदाको महत्त्व, संस्कृतिको महत्त्व धेरै छ । यसमा यो मूर्ति कति केजीको थियो भन्ने कुरा मापन हुँदैन । यो मूर्तिहरुको महत्त्व बहुमूल्य छ । आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ । त्यसैले हामीले हाम्रा आस्थाहरुलाई, हाम्रा विश्वासहरुलाई, हाम्रा सम्पदाहरुलाई फर्काउन सफल भएका छौँ ।’
साथै उहाँले हाम्रा सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरुले फर्काउने सोच राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा सम्पदाहरु संसारको कुनै पनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरु छन् । नेपालीहरुले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्त्व थाहा पाउँछन्, र त्यसमा फर्काएर ल्याउने कुरामा संसारभरि फैलिएका नेपालीहरुले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु । नेपालबाट चोरिएका मूर्तिहरु नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरुले पुष्टि गरिसकेको छ ।’