- मनिषा बस्नेत
काठमाडौँ, १५ चैत । यौन श्रमिकहरुको न्यायका लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यताअनुसार बाँच्न पाउनुपर्ने अधिकार रहेको बताउनुभएको छ ।
उहाँले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताउनुभयो । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनुपर्ने उहाँको धारणा छ ।
‘नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरु ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन । नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सही हो । नेपालको कानुनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वइच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्वन गरेको भन्दै यौन श्रमिकहरुको हकका लागि वैधानिकभन्दा पनि नीति बनाउनुपर्ने बताउनुभयो । यौन श्रमिकहरुका पक्षमा अन्य धेरै संस्थाहरु क्रियाशील रहेकाले उनीहरुसँगै मायाको संसारले पनि सहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
‘नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । नेपालमा चाहेर पनि अन्य आयमूलक व्यवसाय वा रोजगार गर्ने वातावरण छैन । अझ सीमान्तकृत वर्ग, महिला, ट्रान्सजेन्डर समुदाय जो यौन श्रमिकको रुपमा काम गरिरहेका छन् उनीहरुका पक्षमा कुनै सहजीकरण भएको छैन । नेपालमा एकलाखभन्दा धेरै यौन श्रमिक छन् । माननीयज्यूहरुले सदनमा उठाएको विषय पनि गलत होइन । नेपालमा मनोरञ्जन भनेको रोधिघर, डान्सबार, क्लब मात्र होइन, यौन श्रमिकको रुपमा काम गरिरहेका व्यक्तिहरुसँग सहमतिमा जाने पनि मनोरञ्जनमै लिइन्छ । सोही विषयमा नेपालमा पनि कानुनी बनाउनुपर्छ भन्ने कुरा गलत होइन,’ उहाँले अगाडि भन्नुभयो ।
नेपालका कतिपय पर्यटकीय स्थलहरु यस्ता छन् जहाँ रात्रिकालीन मनोरन्जन लिनेहरुको संख्या धेरै हुनेभएकाले सो किसिमको व्यवसाय निर्वाद रुपमा गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।
‘विदेशबाट आउनेहरुले मनोरञ्जन लिने गर्छन् । नेपालको कानुनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । यसमा स्वइच्छाले काम गर्न पाउनुपर्छ । त्यसका लागि नेपालमा नीति बनाइनुपर्छ । यसलाई नीतिगत रुपमा काम गर्न पाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा हिंसा पनि भोगिरहेका छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसमा मान्छे विकृति देख्छ समस्या देख्छ तर समाधानको बाटो देख्दैन । यसलाई ठुलो समस्या बनाउनु व्यवस्थित गर्नैपर्छ,’ उहाँले भन्नुभयो ।
नेपालमा यौन व्यवसाय छ भन्ने कुरा सबैलाई जानकार भएको विषय भएकाले विश्वमा भएका अभ्यासहरु नेपालमा पालना गरिनुपर्ने उहाँको भनाइ छ ।
‘नेपालमा यो विषयमा अनविज्ञ छैन । त्यसका लागि रेडलाइट क्षेत्र तोक्ने काम गर्दा केही बिग्रिँदैन । थाइल्यान्डमा यस्तो यवस्था छ । नेपालमा यौन श्रमिक छन् यो कुरामा सरकार पनि जानकार छ तर त्यसको लागि कानुन बाझिने खालको छ । कानुनमा वेश्यागमन गर्न पाइँदैन, वेश्यावृति गर्न पाइँदैन । वेश्यागमन गरेको खण्डमा र वेश्यावृति गरेको खण्डमा कानुनले सजाय दिन्छ । जबरजस्ती यो पेसामा लगाउन पाइँदैन त्यसैले यस विषयलाई मानव बेचविखनसँग जोडिएको छ,’ उहाँले अगाडि भन्नुभयो,‘तर हरेक नागरिकले आफ्नो पेसा छान्न पाउनुपर्छ । पेसा छान्ने सबैको अधिकार हो । कसैलाई करकाप गर्यो भने कानुनअनुसार सजाय भोग्नुपर्छ । यसलाई अपराधीकरण होइन निरअपराधीकरण हुनुपर्छ ।’
विभिन्न संघसस्थाहरुले यस विषयलाई बलियो मुद्दाका रुपमा उठाइरहेको जनाउँदै लामाले संसदमा उठाइएको विषयलाई हंगामा गर्नुपर्ने आवश्यक्ता नभएको उहाँको बुझाइ छ ।
‘यस विषयमा हामीले पनि आवाज उठाएका छौँ । सदनमा यौन व्यवसायको कुरा उठाउदा हंगामा नै मच्चियो । उहाँको परिवारलाई लिएर जुन शब्दावली प्रयोग भयो त्यसमा दुःख पनि लाग्यो । अब आउने दिनहरुमा माननीयहरुले यस विषयमा सहजीकरण गरिदिनुहोला । नेपालमा एक लाखको संख्यामा यौन व्यवसायीहरु छन् । यस विषयमा अनुसन्धान, अध्ययन गर्न जरुरी छ । लैङ्गिक नीति बनाउन पनि आवश्यक छ,’ उहाँले भन्नुभयो ।
सीमान्तकृत समुदाय, अशिक्षित, गरिब व्यक्तिहरु यौन श्रममा लागेकाले जुनसुकै पेशा व्यवसाय गर्न राज्यले अवरोध गर्न नहुने उहाँको सुझाव छ । यौन व्यवसायलाई व्यवस्थित गर्नेगरी निर्माण गर्न सकियो भने राज्यलाई करमार्फत् आर्थिक आम्दानी हुने भएकाले चाँडै व्यवस्थित गर्नुपर्ने लामाको भनाइ छ ।