शुक्रबारको प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मी खटाइने, यस्तो छ तयारी

47
  • आकांक्षा धामी

काठमाडौँ, १४ चैत । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने  प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुईवटा स्थलहरुमा प्रर्दशन हुँदै छ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौँ । यसका लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरु नेपाल प्रहरीको तर्फबाट खटाइएको छौँ । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’

साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताउनुभयो ।

आचार्यले भन्नुभयो, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौँ ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताउनुभयो ।

साथै, नेपाल प्रहरीले २४सैँ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ । उहाँले भन्नुभयो, ‘कुनै पनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दै छौँ ।’

यसैगरी उहाँले प्रायजसो प्रदर्शनका कार्यक्रमहरु माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरु खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रायजसो प्रदर्शनका हिसावले हेर्ने हो भने बढी फोकस हामी माइतीघररमा गर्छौँ । किनभने त्यहाँ बढी प्रदर्शन हुने गर्दछ । अलिकति भृकुटीमण्डपमा हुन्छ । ट्राफिकको पनि डाइर्भसन छ । बाटोमा जाम नहोस् भनेर सजक छौँ । बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाइर्भट गर्ने गरेका छौँ ।’

रात्रिकालीन समयको अलग्गै व्यवस्था
साथै उहाँले ठमेल दरबारमार्गतिर व्यवसायका हिसाबले बढी भीड हुने भएकाले रात्रिकालीन समयमा समेत सुरक्षा व्यवस्थापनमा ध्यान दिने गरेको बताउनुभयो । उहाँले आवश्यकताअनुसार गस्ती, पेट्रोलिङको कामहरु सिभिलमा पनि परिचालन भएर त्यहाँ हुन सक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यहीअनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रात्रिकालीन पनि कुनै इभेन्टवेस छ भने इभेन्टलाई फोकस गरेर काम गर्छौँ । २४सैँ घण्टा नै त्यहाँको आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु आवश्यकताअनुसार सिभिलमा पनि परिचालन भएर त्यहाँ हुनसक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यहीअनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएका छौँ । ’

यसैगरी उनले ट्राफिक उल्लङ्घनसँगै हरेक दिन विभिन्न किसिमका कारबाहीहरुमा प्रहरीले जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ट्राफिक उल्लङ्घनका विषयमा विभिन्न किसिमको कारबाहीहरु गरिरहेका छौँ । त्यसमा पनि कुन कुन उल्लङ्घन भन्ने छ, रेगुलर प्रोसेसकै कुराहरु छन् । ट्राफिक उल्लङ्घनमा एक हप्ताको मात्र जरीवाना हेर्ने हो भने झण्डै दुई करोड बराबरको हुन्छन् ।’

राजावादीहरुले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । यता, चार दलको समाजवादी मोर्चाले पनि भोलि नै काठमाडौँमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो ।

यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गर्नुभएको छ । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...