सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : प्रधानमन्त्री ओली

21

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्‍याउने कामहरु भइरहेको बताउनुभएको छ ।

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उहाँले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरुमा पनि प्रविधिको विकास गरेर कसरी धेरैभन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् त्यो स्वभाविक पनि हो । विरोधीहरु लाग्छन् ।’

यसका साथै, उहाँले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनुहुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहन्नँ । हामीले देशको विकास गर्नु छ । अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौँ । हामी आफ्ना विषयमा केन्द्रित हुन्छौँ आफ्ना काममा केन्द्रित हुन्छौँ र आफ्नो देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ ।’

पूर्वाधार बिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...