प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

13

विराटनगर, १२ चैत । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सोमबार राति सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गर्नुभएको थियो । राईले संगठनको हितका लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताउनुभएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठन नेपालको अध्यक्ष बन्नुभएका सुवेदी सिङ्गो टिमसहित केही समयअघि प्रेस चौतारी नेपालमा नै फर्किनुभएको थियो ।

केन्द्रीय समिति पदाधिकारी पछिको वरियतामा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिनुभयो ।

९९ सय सदस्यीय केन्द्रीय समितिका सबै प्रदेशका इञ्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इञ्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई बागमती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इञ्चार्ज तोकिएको छ ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।

संगठनको हित र समायोजन भएर आएकालाई समेत व्यवस्थापन गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा (एमाले) जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालाले बताउनुभयो । उहाँले संगठनलाइ थप मजबुद बनाएर लैजान पनि आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...