काठमाडौँ, ११ चैत । शीर्ष दलहरुले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न सहमत भएका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाइने बताउनुभयो ।
‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तका लागि सिफारिस समिति, सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्छ,’ उहाँले भन्नुभयो ।
उक्त समिति बनाउन प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको पनि उहाँले जानकारी दिनुभयो ।
सिंहदरबारमा बसेको छलफलमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतका नेताहरु पनि सहभागि हुनुहुन्थ्यो ।
यसअघि शान्ति प्रक्रियाका बाँकी काम सक्नका लागि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन दुई आयोगका पदाधिकारी नियुक्तिको लागि सर्च कमिटी गठन गर्ने सहमति भएसँगै दुई आयोग सक्रिय हुने अनुमान गरिएको छ ।