विराटनगर, १० चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभएको छ ।
आइतबार प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताउनुभयो ।
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भन्नुभयो ।
पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताउनुभयो । माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उहाँको भनाइ छ ।
नेपालको राजनीतिमा नेपाली कांग्रेसले जतिबेला संसद् विगठन गर्छ, त्यतिबेला सदर हुने तर एमालेले विगठन गर्दा अमान्य हुने गरेको पोखरेलले बताउनुभयो । नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ ।
आज राजावादीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गर्नुभयो । पोखरेलले कूतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिनुभयो । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।