यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?

23
  • मनिषा बस्नेत

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिनुभएको थियो । उहाँले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए ।

उहाँले भन्नुभएको थियो,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुग्छ ।’

घिमिरेले दिनुभएको अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउँदै कारबाहीको माग समेत गरे । यसै क्रममा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्‍याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनतः देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्‍मा भन्नुभयो- गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालीन प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गर्नुभएको थियो ।

तर, गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भन्नुभएको थियो, यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उहाँको दाबी थियो ।

यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाउनुभएको थियो । तर, कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन ।

यद्यपि, यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरुको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।

यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाई लिएर सेक्स वर्करहरुलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् ।

यौन श्रमिकहरुको न्यायका लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताउनुभयो । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनुपर्ने उहाँको धारणा छ ।

‘नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरु ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन । नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सहि हो । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वइच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अबलम्वन गरेको भन्दै यौन श्रमिकहरुको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताउनुभयो ।

यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

‘यहाँ एउटा वर्ग छ, जो चाहिँ पीडामा छ । जसको अधिकार चाहिँ राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभयो ।

‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत् नेपाल सरकारले तथ्याङ्क निकाल्छ । जसअनुसार करिब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरु समस्या विकराल छ यसलाई व्यवस्थापन गनुपर्ने समयमा संसदमा उठ्यो । अब पोजिटिभ आउला भनेको दबाइयो ।’ उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताउनुभयो ।

यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरुको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराधअन्तर्गत मुद्दा चलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानुन अभाव छ ।

कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसाय बारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताउनुभयो । कानुनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उहाँको जिकिर छ । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...