काठमाडौँ, ९ चैत । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तरक्रियामा उहाँले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भीरतापूर्वक कदमहरु नचालेको कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन तर पनि यो अवधिमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानुनहरु पालना भएका छैनन् । कानूनहरुलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भीरतापूर्वक लिन सकेन । भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै छ । सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन ।’
यसका साथै उहाँले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गान दलालीहरु मात्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ । तर, कम्युनिष्ट पार्टीका नाम राखेपनि तिनीहरु वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन् । यही कमिसनको भोकले नेताहरु एकपछि अर्को बिक्री भइरहेको, कमिशनखोरहरुले उनीहरुलाई खरिद गरिरहेका छन् । जसका कारण देशमा विकृति र विसंगति बढ्दै गएको छ ।’