काठमाडौँ, ९ चैत । सभामुख देवराज घिमिरेले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई सबलीकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उहाँले संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउनुपर्ने भन्दै अबको कार्यहरु संघीयतामा केन्द्रित भएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु संघीयताको मर्म अनुसार होइन । संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशिल बनाउन जरुरी छ । संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रीत हुनुपर्छ भन्ने कुरामा दुढताका साथ यो छलफल पछाडि लाग्नुपर्छ ।’
यसको साथै, उहाँले संघीयता सुदृढ बनाउनु भनेको केवल संरचनात्मक व्यवस्थापन मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन, नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजन गर्ने विषय पनि भएको बताउनुभयो ।
नीतिगत क्षेत्रमा धेरै माथि भए पनि कार्यान्वयन गर्ने सन्दर्भमा केही समस्याहरु आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी नीतिगत क्षेत्रमा धेरै माथि भए पनि कार्यान्वयन गर्ने सन्दर्भमा हामीमा केही समस्याहरु छन्, कार्यान्वयन गर्ने मेकानिजमहरुको अभाव छ । मेकानिजम् कसले चलाउने कसरी चलाउने भन्ने कुरा ऐनदेखि लिएर व्यवहार जस्ता थुप्रै कुराहरु गासिएका छन् । यी कुराहरुलाई फुकाउनका लागि आजको यो छलफल बढी केन्द्रित भएर जान सक्यो भने, अनुभवलाई साट्न सक्यो भने त्यसको आधारमा बनाउनुपर्ने नीतिहरु बनाउनको लागि यहाँ उपस्थित सबैले पहल गर्ने हो भने मलाई लाग्य यसले निकै ठुलो ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छ ।’
यस्तै, निजामति सेवा ऐनको अभावले प्रसाशनिक संघीयता कमजोर बनाएको आम गुनासो आएको उल्लेख गर्दै संसद्मा छलफलको क्रममा रहेको निजामति सम्बन्धित विधेयकले यसमा केही हदसम्म सहज वातावरण बनाउने उहाँको विश्वास रहेको छ ।
उहाँले भन्नुभयो, ‘निजामति सेवा ऐनको अभावले प्रशासनिक संघियता कमजोर बनाएको आम गुनासो हामीले सुनेका छौँ । संसद्मा छलफलको क्रममा रहेको निजामतिसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिटो टुङ्गाउने प्रयासमा हामी लागि रहेका छौँ र त्यसले केही हदसम्म सहज वातावरण बनाउने कुरामा आशावादी छौँ । यसलाई छिट्टै पूरा गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’