काठमाडौँ, ८ चैत । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले कृषिले मात्र मुलुकमा समृद्धि ल्याउने दाबी गर्नुभएको छ ।
शुक्रबार आरजु राइस मिलले कृषकहरुसँगको अन्तरक्रियामा बोल्नुहुँदै उहाँले खाद्यन्न बालीको उत्पादनमा वृद्धि भएपछि मात्र समृद्धि सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा अबको समृद्धि भनेको कृषिबाट सुरु नभइ समृद्धि हुँदैन । कृषि भनेको किसानको खेतलाई अधिकतम प्रयोग गर्ने खाद्यन्न बालीको उत्पादन वृद्धि हुन पर्यो । त्यसपछि मात्रै समृद्धि हुन्छ । नेपालको समृद्धिपछि मात्र रोजगारी सिर्जना हुन्छ । सोही अभियानका लागि धेरै मेहनत गरेका हौँ । २२ वर्षदेखि भिडिरहेका छौँ र २०औँ करोडजति नै खर्च गरिसकेका छौँ ।’
त्यस्तै, उहाँले बुद्ध एयरलाइन्सभन्दा बढी समय आफूले कृषिसम्बन्धी अभियानलाई दिएको पनि बताउनुभयो ।
मिलको स्थापना उद्देश्य कृषकहरुलाई धानको उचित मूल्यमा बिक्री गर्न सहयोग पुर्याउनु र कृषि उत्पादनलाई समृद्धितर्फ डोहोर्याउने भएको भन्दै उहाँले आरजु राइस मिलले धानको उत्पादन र प्रशोधनमा उत्कृष्टता राख्न आफ्नो दक्षता र प्रविधिको उपयोग गरेको पनि बताउनुभयो ।