गणतन्त्र आइसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानुनमा बाँचिरहेको छ : मन्त्री गुरुङ

14

काठमाडौँ, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आइसकेपछि पनि राजतन्त्रको ऐन कानुनमा बाँचिरहने देश भएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित दूरसञ्चार उद्योगलाई पुनःजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उहाँले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानुन बदल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद्, मन्त्रालयहरुलगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आइसक्यो राजतन्त्रको ऐन कानुनमा बाँचिरहने देश हो । त्यसकारण हामीले के गर्नुपर्‍यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानुन बदल्नुपर्छ । हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ ।’

यसका साथै उहाँले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रको नाफा घट्दै गइरहेको छ । हामी समयानुकुल चल्नुपर्छ । आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नुपर्छ । त्यसकारण ऐन, नीति सबैको समीक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समीक्षा हुन्छ । र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुँदैन ।’

दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनका लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेश हुने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नीतिमा पुनःविचार गर्नुपर्ने छ, त्यो पनि गर्दै छौँ । हाम्रो कानुन जुन छ दूरसञ्चार ऐन त्यसलाई ड्राफ्ट गर्दै छौँ । संशोधनका लागि अन्तिम चरणमा पुगेको छ । तपाईहरुसँग छलफलमा बसेर यसलाई संसदमा पेश गर्नुपर्छ । अस्वभाविक, अव्यवहारिक देखिएको कुराहरुलाई सुधार गर्नुपर्ने छ । त्यसैको आधारमा हाम्रो नीति र नियमावलीहरु बनाउनु पर्ने छ ।’

Share This:
सम्बन्धित खबर
Loading...