काठमाडौँ, २० फागुन । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत् चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दुध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।
एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशकअघिसम्म सात सय लिटर दुधमार्फत् चिज उत्पादन हुने गरेको भए पनि हाल १५० लिटर दुध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताउनुभयो ।
‘म २७ वर्षदेखि कारखानमा कार्यरत छु । १४ वर्षदेखि केन्द्र प्रमुखका रुपमा काम गरिरहेको छु । कारखानामा दिनप्रतिदिन उत्पादन घट्दै गएको छ । पर्यटकको चाप बढेकाले चिजको माग पनि बढ्दो छ तर हामी कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौँ । लाङटाङको उत्पादनले नपुगेर काठमाडौँबाट चिज लगेर बेच्नुपर्ने अवस्थामा छौँ,’ उहाँले भन्नुभयो, ‘दुधको मूल्य नहुँदा र राज्यले किसानहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन नसक्दा उत्पादन घट्दो अवस्थामा छ ।’
लाङटाङ पर्यटकको हब हो । याकचौरी पाल्ने किसानहरु पर्यटन व्यवसायतिर व्यस्त भएकाले चौँरी गोठहरु हटाउन थालेका छन् । भएका गोठहरुमा पनि सरकारको प्रोत्साहन नभएको स्थानीयबासीको भनाइ छ । चौँरी पालेरभन्दा पर्यटन व्यवसायमा मनग्ये आम्दानी हुने भएपछि किसान व्यवसायिक रुपमा दुध उत्पादन गर्न सक्रिय छैनन् ।
‘०७२ सालको विनाशकारी भूकम्पमा परी यहाँका करिब सात सय याकचौँरी मरे । २३ किसानले ज्यान गुमाउनुपर्यो । त्यसपछि व्यवसायिक रुपमा चौरी पालन हराउँदै गयो । मानिसहरुले व्यवसाय बदलेर पर्यटनतिर आकर्षित भए । बालबच्चा बढाउन भनी स्थानीयबासी सहरतिर बसाइँ सर्न थालेपछि थप समस्या आउन थालेको छ,’ तामाङले भन्नुभयो,‘यही अवस्था हो भने चिज कारखाना बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’
दुग्ध विकास संस्थानले चौँरीको चिजको मूल्य १८ सय ८० रुपैयाँ तोकेको छ । दुधको मूल्य प्रतिलिटर करिब एक सय रुपैयाँ मात्र छ । ‘लाङटाङमा कालो चियाको मूल्य नै १२० रुपैयाँ छ । दूध प्रतिलिटर एकसय रुपैयाँ पनि नहुनु दुर्भाग्यपूर्ण छ । किसानहरु दुध बेच्नुभन्दा कालो चिया बेचेर मनग्गे आम्दानी गरिरहेका छन्,’ तामाङले भन्नुभयो,‘पटक पटक माग गर्दापनि सरकारले किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम नै ल्याउन सकेन । चासो नै दिएन । बिमा र अनुदानका कार्यक्रमहरु ल्याउनै सकेन ।’
प्रमुख तामाङका अनुसार कुनै सयम पाँच जना किसानले तीनसय लिटरसम्म दुध ल्याउने गरेको भए पनि अहिले पूरै घटेको छ । यसपाली पनि दुईवटा चौँरी गोठ बिक्री भइसकेकाले उत्पादन थप घट्ने उहाँले जानकारी दिनुभयो ।
‘चिजको माग पूरा गर्न हामीले लाङटाङ, घत्लाङ, तातोपानी, चन्दनबारी, धुन्चेतिरबाट चिज संकलन गरिरहेका छौँ । पर्यटकहरुको माग पूरा गर्न काठमाडौँबाट चिज लाङटाङ ल्याइरहेका छौँ । लाङटाङमा एकसय १६ घरधुरी रहेपनि हाल तीनवटा गोठमा ६०–७० वटा मात्र याकचौँरी छन्,’ उहाँले भन्नुभयो । उहाँले लाङटाङ क्षेत्रमा हाल हिउँ कम पर्न थालेकाले जलवायु परिवर्तनको असर देखिन थालेको पनि बताउनुभयो ।