काठमाडौँ, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य दुई, डिजेल र मट्टितेलको एक रूपैयाँ घटेको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५७ रुपैयाँ र तेस्रो वर्गका लागि १५८ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४४ रुपैयाँ र तेस्रो वर्गका लागि १४५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रूपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।