यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहिँ लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो । होला, माइक्रोफाइनान्स (लघुवित्त)भित्र विकृति पनि छ । तर, जसले साँचो रुपमा सामाजिक, आर्थिक विकास गर्ने उद्देश्यका साथ संस्था खडा गरेको छ, त्यसले समाजमा साच्चिकै पारदर्शी भूमिका खेलेको छ । लघुवित्तले समाजमा ठुलो परिवर्तन ल्याइरहेका छन् । कुनै पनि एउटा सानो किसानले कालिमाटीबाट एकसय रुपैयाँको तरकारी ल्याएर १५० मा बागबजारमा बेच्नसक्छ भने त्यसले उसको जीवनमा परिवर्तन ल्याउँछ । मेरो उद्देश्य पनि त्यहीँ हो, यस्तै हुनुपर्छ भन्ने हो । सामाजिक र आर्थिक परिवर्तनमा लघुवित्तको भूमिका कमजोर ठान्नु हुँदैन ।
तर, हिजोआजको ताजा अवस्था त्यस्तो छैन । गाउँको गरिब किसानको आर्थिक पहुँच छैन । जसका कारण ठुलो समस्या भइरहेको छ । अन्य केही उपाय छैन तर तरकारी बिजनेस गर्छु भन्यो भने एक लाख रुपैयाँ बैंकले दिन मान्दैन । तर, माइक्रोफाइनान्सले दिन्छ । इन्सुरेन्सको व्यवस्था समेत गरिदिएको छ । फाइनान्सियल टुल्सका रुपमा राष्ट्र बैंकको अवधारणामा आएको माइक्रोफाइनान्स नै हो । अहिले यसमा लगभग झण्डै दुई लाख ५० हजार सदस्य छन् । त्यो भनेको झण्डै नेपालको राष्ट्रिय पार्टी जस्तै हो । त्यसको (मातृभूमि लघुवित्त वित्तीय संस्था)को म अध्यक्ष छु । सदस्यहरुमा सामाजिक र आर्थिक वाहक बनेर शक्ति दिने काम गरिरहेका छौँ । मर्दापर्दादेखि लिएर जीविकोपार्जन गर्नसम्मको लागि सहयात्रीको रुपमा काम गरेका छौँ ।
हुनतः संसारभरि नै माइक्रोफाइनान्स वा फाइनान्स क्षेत्र अप्ठ्यारोमा छन् । त्यसमाथि पनि नेपालको आर्थिक क्षेत्रपनि संकटमा छ । तर, माइक्रोफाइनान्स भनेको बैंकिङ्ग क्षेत्रभन्दा धेरै फरक छ । आर्थिक र सामाजिक रुपमा पनि चुनौती छ । यदी नेपालमा लघुवित्त हुँदैनथ्यो भने वास्तवमा ग्रामीण अर्थतन्त्र आजको अवस्थामा पुग्ने थिएन । नेपालको गरिबी निवारणमा बैंकिङ्ग पहुँचमा वा आर्थिक विकासमा माइक्रोफाइनान्सको महत्त्वपूर्ण भूमिका छ । यदि त्यो हुँदैनथ्यो भने आजको यो सफलता प्राप्त गर्न सकिँदैन थियो । नेपालमा बचत गर्ने बानी जुन विकास भएको छ त्यो माइक्रोफाइनान्सले नै स्थापित गरेको हो । बचत गरिसकेपछि बचतलाई पनि आर्थिक उपार्जनसँग जोडेर अघि बढाउने काम माइक्रोफाइनान्सले गरेको हो । हामी लघुवित्त सञ्चालकहरुले लोनमात्र दिइरहेका छैनौँ, त्यसको उपयोगिता पनि पहिल्याउने काम गरेका छौँ ।
कुनै किसानले लोन लियो र बाख्रा पालन गर्छौँ भन्यो भने लोन पाएको छ । १५ प्रतिशतभन्दा बढी चार्ज लिएको छैनौँ । तर, निःशुल्क भेटनरी डाक्टर सेवा उपलब्ध गराएका छौँ । किनकी जनावरको स्वास्थ्य अवस्था के छ भनेर हेर्न डाक्टरको भूमिका महत्त्वपूर्ण छ । त्यतिमात्र नभएर यो हाम्रो सामाजिक दायित्व पनि हो । किनभने हामी बैंक होइनौँ । लिने मात्र होइन दिनुपर्छ भन्ने भावना हामीमा छ । यतिबेला विकृतिको कुरा गर्ने हो भने पहिलो कुरा संस्था आफैँ कार्यशैलीमा सुधार पनि गर्नुपर्छ भन्ने हाम्रो मानसिकता हुनुपर्छ ।
विकृतिको सुरुवात त मान्छेबाटै हुन्छ र मान्छेबाट नै सुधार गर्नुपनि पर्छ । संस्थाले गरेको छ भने संस्थाबाट नै सुरु गर्नुपर्छ । राष्ट्र बैंक र सरकारबाट गर्नैपर्ने सुधारहरु पनि धेरै छन् । र सर्वसाधारणले गर्नुपर्ने सुधारहरु पनि छन् । उहाँहरुको पनि आचरण, व्यवहार, शैली र आफ्नो आर्थिक सहयोगको बारेमा गर्नुपर्ने वास्तविक ज्ञान र सुधार गर्नपर्छ ।
अब संस्थाले के सुधार गर्न पर्यो भन्ने कुरा आउला, यसका विभिन्न क्षेत्रहरु छन् । नेपालको सम्पूर्ण बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै र छोटो समयमा मर्जरको बाटो रोज्ने हामी नै हौँ । मेरै नेतृत्वमा भएको छ । सातवटा लघुवित्त, तीनवटा फिन्गो गरेर १० वटा संस्थाको अहिले पनि नेतृत्व गर्छु । धेरैवटा संस्था मर्ज गर्नेमा ग्लोबल आइएमई बैंक पर्छ । तर, छोटो समयमा धेरैवटा गर्नेमा हामी पर्छौँ । मेरो नेतृत्वमा त्यो सफल भएको छ ।
यसरी धेरैवटा संस्था मर्ज गर्दा के अनुभव भयो भन्दा संस्थाको कमजोरीहरु पत्ता लाग्यो । कर्पोरेट गभर्नेन्स (वित्तिय अनुशासन)मा हामीले सुधार गर्नुपर्नेछ । कर्पोरेट गभर्नेन्सका सवालमा हतारमा सम्झौता गरिहाल्ने परिपाटी छ । कहिलेकाही बाध्यता पनि हुनसक्छ । यस्तो भनेको फिल्ड सहायक, ब्रान्च म्यानेजर, सिइओ र बोर्डका सदस्यहरुसम्म आईपर्छ । तर, माइक्रोफाइनान्समा बोर्डका मान्छेहरुको धेरै सानो मात्र भूमिका रहन्छ । लोन दिने र लिने कुरामा हाम्रो भूमिका रहँदैन । भूमिका नभएता पनि कर्पोरेट गभर्नेन्स राम्रो राख्ने कुरामा हाम्रो भूमिका हुन्छ । आफैं सुशासनमा बसेर काम गर्ने हो भने तल केही पनि बिग्रिँदैन । सुशासनको कुरामा सञ्चालक तहमा नै कमजोरी छ । ठुलो कमजोरी ब्रान्च र त्यहाँका मान्छेहरुले गलत नियतले लोन वितरण गरिरहेका छन् । ग्राहकलाई लोनका लागि लोन दिने मात्र काम भएको छ । राम्रो तरिकाले काम नहुने र सम्झौता हुने गरेको छ । संस्थागत सुशासन तलदेखि माथिसम्म गर्नुपर्ने छ । धेरै संस्थामा यस्तैखाले समस्या छ । धेरै कुराको चुनौती संस्थाभित्र छ ।
माइक्रोफाइनान्स भनेको बैंक हो, सहकारी होइन भन्ने कुरामा अन्योलता सरकारले नै सिर्जना गरिदिएको छ । माइक्रोफाइनान्स बैंकिङ्ग सेवा हो भन्ने बुझाइमा एकरुपता भएन । जे गरेपनि हुन्छ भन्ने जस्तो भयो । हाम्रा ग्राहक भनेका गरिब, किसान र महिला हुन् । तर, त्यसका लागि सरकारको फण्ड माइक्रोफाइनान्समार्फत् च्यानलिङ्ग भएको छैन । त्यो सबै दुरुपयोग भएको छ, अर्बौँको फण्ड दुरुपयोग भएको छ ।
माइक्रोफाइनान्सको समस्या के छ भने महँगोमा बैंकबाट लिनुपर्ने बाध्यता छ । कुनै बेला १०, १२, १५, १६ प्रतिशतसम्म बैंकले चार्ज गर्ने गरेको थियो । अहिले पनि ९ प्रतिशत चार्ज लाग्छ । अब हामीले पनि त्योभन्दा कममा दिन सक्दैनौ नि । अहिले राष्ट्र बैंकले २ प्रतिशतमा पैसा उठाइरहेकोछ । दुई प्रतिशतमा बैंकले उठाएर माइक्रोफाइनान्सलाई ३ प्रतिशतमा दिने हो भने माइक्रोफाइनान्सले ६ प्रतिशतमा जनतालाई दिने हो भने त ठुलो योगदान हुन्छ ।
यतिबेला हामीले उठाइरहेको मुद्दा भनेको मर्जन नीतिमा परिमार्जन गर्नुपर्यो भन्ने हो । माइक्रोफाइनान्सहरुको मर्ज माइक्रोफाइनान्ससँग मात्र नभएर बैंकसँग पनि हुनुपर्छ भन्ने हो । आइटी कम्पनीसँग पनि हुनुपर्यो र पिएसपीसँग हुनुपर्यो भन्ने हो । दोस्रो कुरा भनेको माइक्रोफाइनान्सलाई बैंकको रुपमा चिनाउन राष्ट्र बैंकले पहल गर्नुपर्छ र नीतिगत तहमा पनि त्यसमा काम गर्नुपर्छ भन्ने हो । कष्ट अफ फण्ड कम गर्नुपर्यो ताकि जनतालाई १५ प्रतिशत होइन १० प्रतिशतमा कसरी झार्ने भन्ने हुनुपर्यो । तेस्रो कुरा भनेको आधुनिक प्रवृत्तिको समयमा माइक्रोफाइनान्समा प्रविधिको एकदमै जरुरी छ । त्यसको लागि एउटा प्रविधिमैत्री बनाउनुपर्छ । त्यसको लागि राष्ट्र बैंककै ठुलो भूमिका रहन्छ । राष्ट्र बैंकले यसलाई नीति र नियमहरुमा तर्जुमा गर्नैपर्छ ।
उदाहरणका लागि लोन लिंदा अनलाइनबाट मिल्दैन । प्रत्यक्ष उपस्थित भएर तमसुकमा ल्याप्चे लगाउनैपर्छ । ल्याप्चेको कुरा हटाएर ओटिभी, पासपोर्टलगायतका विधिहरु प्रयोग गर्नुपर्छ । ग्राहकले घरबाटै बसेर काम गर्न सकोस् भन्ने मानसिकतामा काम गरिनुपर्छ । यसबाट पनि माइक्रोफाइनान्सको कष्ट घट्छ । त्यो कष्ट घट्नु भनेको हामीले दिने लोनमा कर घट्छ, यो कर घट्नु भनेको जनता सहयोग हुनु हो । यस्ता नीतिहरुमा परिवर्तन गर्नको लागि राष्ट्र बैंकलाई भनेका छौ र यसमा राष्ट्र बैंक पनि सकरात्मक देखिन्छ ।
यहाँ विभेदको कुरा पनि गर्न जरुरी छ । हरेक क्षेत्र विभेद अझै कायम छ । मैले पनि विभेद जन्मेदेखि नै भोग्दै आएको छु । व्यवसायमा पनि सोही किसिमको विभेद कायम छ । सुरुमा काठमाडौँ आउँदा पढाइमा जुम्लेली भनेर विभेद गर्ने, त्यसपछि विदेश गएपछि नेपाली गरिब देशका हुन भनेर विभेद गर्ने प्रचलन कायमै छ । व्यवसाय गर्छु भनेर नेपाल आएँ तर मान्छेहरुले विभेदको दृष्टिले हेरिरहेका छन् । म सँग पैसा आकाशबाट आएकोजस्तो गरेर व्यवहार गरिरहेका छन् ।
हुँदा हुँदा सेक्टरमा पनि विभेद भोगिरहेका छौँ । जनतामा बैंकबाट लिएको कर्जा तिर्नुपर्छ भन्ने छ तर सहकारी र माइक्रोफाइनान्सबाट लिएको कर्जा तिर्नु पर्दैैन भन्ने सोच छ । यो पनि विभेद नै हो । वास्तवमा कर्जा भनेको जसबाट लिएपनि तिर्नुपर्छ । यतिबेला हामीले १२–१३ अर्ब पैसा परिचालन गरिरहेका छौँ । त्यसमध्ये करिब साढे चार अर्ब पैसा गाउँमा रहेका एकदमै गरिबको पैसा डिपोजिट भएको छ । जसको कुल सम्पत्ति बेच्यो भने पाँच लाख पैसा पनि आउँछ कि आउँदैन । उसले ५० हजार हामी कहाँ डिपोजिट गरेको छ । उनीहरुको ५० हजार डुब्नु भनेको धेरै डुब्नु हो । तर, पनि जनतामा विभेदकारी व्यवहारहरु भइरहेका छन् । लघुवित्त भनेका पनि बैंक नै हुन्, यो बैंक डुब्नु भनेको धेरै गरिबहरु डुब्नु हो ।
त्यसैले हामी सबैले वित्तिय अनुशासन कायम राख्नुपर्छ । संसारमा फाइनान्सियल अनुशासन व्यक्तिमा छैन भने त्यो व्यक्ति पनि राम्रो हुन सकेको पाइँदैन । अनुशासन संस्थामा छैन भने संस्था राम्रो हुन सक्दैन । राज्यमा छैन् भने राज्य पनि राम्रो हुन सक्दैन । त्यसैले सबैले वित्तीय अनुशासन कायम राखौँ ।
(मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष एवम सामाजिक उद्यमी लोकराज शर्मासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)