८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

31

काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो । जनतामा ठुलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ । म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो सम्भव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै उहाँले जनताको बीचमा जान अब नयाँ खालको प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो ।

यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्नुहुँदै उहाँले यसपटक पुरानो विरासत स्थापित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदै छ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो । यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

संसारभरिको कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्त्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उहाँले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । यो कम्युनिस्टहरुको महत्त्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गर्नुभयो ।

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उहाँले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्त्वपूर्ण चुनौतीको रुपमा रहेको बताउनुभयो । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिनुहुँदै उहाँले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...