बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड

25

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्‍याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौँ । सहिदका सपना र संकल्पतिर फर्किसक्यौँ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरुका संगतले थोरै मैलिएका थियौँ, धुलिएका थियौँ । आधारभूत वर्गबाट थोरै टाढिएका थियौँ । त्यो धुलो र मैलो टकटक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौँ ।’

सत्तारुढ दलहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्दै उहाँले अब विपक्षीको डरले एकअर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गर्नुभयो ।

‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ,’ उहाँले भन्नुभयो, ‘हामी सरकार बनाउनेछौँ तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौँ तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...