देशभरका १६ लाख किशोरीलाई एचपिभी खोप लगाइने, मनिषा कोइराला खोपदूत

5

काठमाडौँ, १५ माघ । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको छ ।

यसअन्तर्गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदै छ । यस योजनाको प्रधानमन्त्रीबाट सुरुवात गर्नेगरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गर्नुभएको हो ।

देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरु नछुट्ने गरी कार्यक्रम अघि बढाउन मन्त्री पौडेलले उच्च अधिकारीहरुसमक्ष भन्नुभएको छ । मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रुपमा अघि सार्ने भएको छ ।

क्यान्सर विजेता कोइराला एचपिभीसहितका खोप कार्यक्रमका लागि दूतका रुपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरु विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रुपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याउनुभएको छ ।

१६ लाख किशोरीहरुको खोप अभियानले महिलाहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरुले बताएका छन् ।

नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रतिएक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ ।

तर, समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् । पाठेघरको क्यान्सरबाट हुने ठुलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...