मुगु, १४ माघ । जुम्लाको सिञ्जा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकिन जानकारी प्राप्त भइसकेको छैन ।
१३ गते दिउँसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको निधन भएको सिञ्जा गाउँपालिकाका पूर्वअध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो । आगो स्याउ बगैँचाबाट सुरु भइ जंगलसम्म फैलिएको थियो।
आगो नियन्त्रणमा लिनका लागि पूर्वगाउँपालिका अध्यक्ष रावलसहित स्थानीय बासिन्दाले भरमग्दुर प्रयास गरे पनि नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइ जुम्लाबाट टोली पठाइएको जानकारी दिनुभयो । उहाँले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गर्नुभएको छ । अहिले आगो नियन्त्रणभन्दा बाहिर रहेको छ ।