सञ्चार क्षेत्रलाई आवश्यकताअनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री गुरुङ

19

काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताअनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उहाँले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकताअनुसार संस्थाहरुलाई चलाउनका लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउँदैछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यहीँअनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’

साथै उहाँले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमानमाथि आक्रमण गर्ने प्रयासहरु भइरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठुलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोसिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भइरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनुपर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...