- सविता नयाँजू
काठमाडौँ, ३ माघ । विश्वका समृद्ध देशहरु घुम्न जाने पर्यटकहरुलाई संग्रहालय अनिवार्य रुपमा भ्रमण गराउने प्रचलन छ । वास्तवमा संग्रहालय एउटा ज्ञानको केन्द्र पनि भएकाले विद्यार्थी वा अनुसन्धानकर्ताहरुका लागि त्यहाँको भ्रमण गर्नु अनिवार्य मान्ने गर्छन् ।
नेपालको सबैभन्दा जेठो छाउनी संग्रहालय अर्थात् राष्ट्रिय संग्रहालय लाखौँ वर्ष पुरानो मानव जीवनशैली वा मानव सभ्यता संग्रहित गरिएको एक ऐतिहासिक केन्द्र पनि हो । तर, यसलाई समयसापेक्ष रुपमा परिवर्तन गर्नुपर्ने आवाजहरु उठ्न थालेको छ ।
ऐतिहासिक घटनाको साक्षीको रुपमा रहेको संग्रहालयलाई आधुनिकीकरण गर्नुपर्ने माग उठ्न पनि थालेको छ । यसका लागि सरकारले प्राथमिकताका साथ योजना र बजेटको व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
मानव सभ्यताको ढुंगेयुगदेखि संस्कृतिका बारेमा बुझ्नका लागि उपयुक्त मानिएको यो संग्रहालय नव जीवनको पर्खाइमा छ । प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सकिने यहाँ जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक सङ्ग्रहालय भवन) गरी तीन वटा भवन रहेका छन् ।
१९२८ सालमा हतियार संग्रहालयका रुपमा प्रधानमन्त्री भिमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणहरूको पहुँचमा नभए पनि हिजोआज सबैका लागि खुला छ ।
१९३८ सालको डिसेम्बर महिनामा सर्वसाधारणहरूको लागि खुल्ला गरिएको संग्रहालयलाई छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामाकरण गरिएको थियो । सन् १९४२ मा प्रधानमन्त्री जुद्ध शमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निर्माण गरे । त्यो भवनको नाम जुद्ध जातीय कलाशाला राखे । सन् १९६७ सालमा नेपाल सङ्ग्रहालयलाई नेपाल राष्ट्रिय सङ्ग्रहालय भनेर नामाकरण गरियो

राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले संग्रहालय मानवशास्त्र, कलावस्तु, चित्रहरु र पूराना हतियार सबैलाई संरक्षित गरेर राखिएको भन्दै अन्य संग्रहालयभन्दा फरक रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘अन्य संग्रहालयभन्दा राष्ट्रिय संग्रहालय फरक किन छ भने मानवशास्त्र, कलावस्तु, चित्रहरु, पहिलाको समयमा नेपाल कुन अवस्थामा थियो र कस्तो हतियार प्रयोग गर्ने गरेका थिए ती सबैलाई संरक्षित गरेर राखिएको छ । संग्रहालयले नेपाली समाज, नेपालीको तत्कालीन समयको अवस्था र विगतदेखि अहिलेसम्मको सभ्यता पनि हेर्न वा अवलोकन गर्न सकिन्छ ।’
यस्तै, उहाँले मानवको सुरुवात भएको समय जङ्गली युग अथवा ढुङ्गे युगमा कस्तो खालको समाज थियो, हतियार थियो भन्नेदेखि हाल जति मानव समाजको विकास भएका छन् त्यसलाई नियाल्न सक्ने सामाग्रीहरु संग्रहालयमा रहेको पनि बताउनुभयो ।
ढुङ्गे युगमा प्रयोग गरेका विभिन्न ढुङ्गाका हतियारहरु नेपालको विभिन्न ठाउँबाट उत्खनन् गरेर यहाँ राखेको पनि उहाँको भनाइ छ । उनले समग्रमा संग्रहालयको स्तर अलिकति उकास्नु पर्ने बताउनुभयो । हाल सरकारले विजियोजन गरेको बजेट अपुग रहेको उहाँले सुनाउनुभयो । संग्रहालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्नुपर्ने र प्रदर्शनी कक्ष परम्परागतबाट सुधार गरेर नयाँ प्रविधिहरु राख्नुपर्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले संग्रहालयको अवस्था राम्रो नै छ तर यसलाई अझ राम्रो बनाउनका लागि यसलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्नुपर्छ । प्रदर्शनी कक्ष परम्परागत खालको छ । संग्रहालयमा हालको नयाँ प्रविधिहरु राख्नु पर्नेछ । समग्रमा संग्रहालयको स्तर अलिकति उकास्नु पर्नेछ । यसको लागि बजेटका लागि पुरातत्व विभागमार्फत् संस्कृति मन्त्रालयमा योजनासहित जानकारी गराएका छौँ । अहिले राखेको बजेट अलिकति अपुगजस्तै छ ।’
उहाँले संग्रहालय र आगन्तुकहरुसँग टिकटको रकम भनेको राजश्व उठाउने भन्दा पनि नेपाली सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयासका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संग्रहालय र आगन्तुकहरुसँग टिकटको पैसा उठाउने भनेको राजस्व बढाउने भन्दा पनि कला संस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको कारणले गर्दा टिकटको पैसा निकै कम छ । विद्यार्थीहरुको लागि १०, नेपालीहरुको लागि २५ विदेशीहरुको लागि सय रुपैयाँ छ ।’
संग्रहालय घुम्न आउनेहरुको संख्या जति हुनुपर्ने हो त्यो नभएको पनि कर्मचारीहरुको भनाइछ । योभन्दा पहिला वर्ष ७० देखि ८० हजार आगन्तुकहरु आएका थिए भने यो वर्ष एक लाख आगन्तुकहरु लक्ष्य राखेका र त्यो पूरा हुने आशा गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
साथै उहाँले संग्रहालयमा एक दिनमा बढीमा २५ सय र कम्तीमा तीन/चार सय मानिस आउने गरेको र त्यसमा नेपालीमा विद्यार्थीहरु एवम् विदेशीको हकमा चिनियाँ पर्यटकहरुको संख्या बढी रहेको उहाँले जानकारी दिनुभयो । -नेपाल न्यूज बैंक