मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्म्भावना बोकेको छ : मन्त्री पाण्डे

8

भोजपुर, १ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताउनुभएको छ ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उहाँको भनाइ छ । ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ उहाँले भन्नुभयो, ‘यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’

झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ’मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।

भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरु हुने पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरीसम्म पुग्छ । मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से,लगायतका ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ ।

फरक प्रसंगमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । नेपालको आवश्यकताअनुसार जहाजहरू नभएकाले जहाजको संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...