माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड

38

कञ्चनपुर, १३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ ।

कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन । गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन । र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौँ । अहिले मैले अब धेरै भन्नु छैन ।’

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटरब्याजीहरू मिटरब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताएउनुभयो ।

‘सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन,’ भन्नुहुँदै अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफू नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताउनुभयो ।

पूनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्नुभएका उहाँले भन्नुभयो, ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौँ प्रवेश गर्ने तयारी छ।’

सो क्रममा सुदूरपश्चिमको विकासमा आफू दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नका निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्यासम्म पनि मैले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको, सुदूरपश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्यपहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केभीको अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाएको, सुदूरपश्चिमका युवाहरुमा क्रिकेटको राम्रो क्रेज राम्रो रंगशाला निर्माणमा पहल गरेको लगायतका काम गरेको बताउनुहुँदै पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्‍याउने कोसिस गर्दै गर्दा सरकार ढलाइएको उहाँले बताउनुभयो ।

त्यसैगरी, चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । हुम्लाको चीनसँगको चीनले अनुदानमा बाटो बनाउने सहमति भइसकेको र सो काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उनले कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वक अगाडि बढाउन आफूले पहल लिने विश्वास समेत दिलाउनुभयो । राज्य सत्ताबाट विभेद र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापुर्वक लागेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...