काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पिएल सिंहले छाडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले सिंहको खुलेर प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पिएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रुपमा मैले लिएको छु । उहाँ सम्पूर्ण काठमाडौँबासीहरुको पनि सेवा गर्नुभयो, अथवा उहाँ अत्यन्तै मेहनती, लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यस्तो व्यक्तिलाई हामीले गुमाएका छौँ । तर, उहाँले छोडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्छ ।’
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा आर्थिक विकास गर्न र कार्यक्रमहरु ल्याउन सिंहको ठुलो भूमिका खेल्नुभएको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले पिएल सिंह जनताको लागि समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै आफ्नो जीवनकालमा धेरै योगदानहरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पिएलज्यूले आफ्नो जीवनकालमा धेरै योगदानहरु गर्नुभएको छ । उहाँ सबैले मन पराएको मान्छे हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवन नै यो क्षेत्र र गणतन्त्रको लागि समर्पित गर्नुभयो । काठमाडौँ महानगरपालिकामा आर्थिक विकास गर्नको लागि कार्यक्रमहरु ल्याउनको लागि निकै ठुलो भूमिका खेल्नुभएको थियो ।’
श्रद्धान्जली सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि पिएल सिंह जीवनभर जनताको अधिकारको लागि संर्घषरत रहेको बताउनुभयो ।
‘उहाँ जीवनभर जनताको अधिकारको लागि संर्घषरत रहनुभयो । गणेशमानजीको निकट रहनुभयो । पार्टीभित्र रहनुभयो । उहाँले अंगालेका सिद्धान्तमा राष्ट्रियता, समाजवाद, नेपाली कांग्रेसको सिद्धान्तबाट कहिले पनि विचलित हुनु भएन,’उहाँले भन्नुभयो, ‘आफ्नो जीवनशैली व्यवहार बोली बचन, आफू मेयर हुँदाको कार्य योजना, माननीय हुँदाको बिचार सदैव उहाँले सैद्धान्तिक पक्षमा राखेर विचारहरु दिनुभयो । सैद्धान्तिक कुरा मात्र गर्नुभएन व्यवहारमा पनि देखाउनुभयो ।’