काठमाडौँ, ११ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक भएको बताउनुभएको छ ।
चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात् माओ दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शर्माले कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउँदै हालको राजनीतिक परिप्रेक्ष्यलाई सम्बोधन गर्न पुनर्गठन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज कम्युनिस्ट आन्दोलनको तेस्रो पुनःगठनको आवश्यकता छ । पुनर्गठन हुनतः ०६४ सालबाट प्रारम्भ गर्न खोजिएको हो । ०६४ मा सिंगो वाम शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले चुनावी तालमेल गरियो र ०६५ मा एकता गरेर अघि बढ्ने प्रक्रिया सुरु भएको हो ।’
‘त्यतिबेलाको नीति र उद्देश्यमा कुनै त्रुटि थिएन । तर नेतृत्व तहमा देखिएको समस्या र आपसी खिचातानीका कारण त्यस अभियानले सफल रुप लिन सकेन’, उहाँले भन्नुभयो, ‘नीतिगत रुपमा त्यहाँ गलत थिएन । नेतृत्वको समस्या, नेतृत्वको कमजोरी, नेतृत्वको गलत समस्याको खिचातानीले त्यो सफल हुन सकेन ।’
शर्माले नेतृत्वको कमजोरी र मतभेदकै कारण वाम आन्दोलनले आफ्नो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्नुभयो ।