काठमाडौँ, १२ पुस । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले ५०औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रक्रियामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘५०औँ वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाइको सरकार छ । त्यहीँ पनि केही गरेको छैन । कोही नेताले तपाईंहरुको काम प्रक्रियामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन । केही काम भएको छैन ।’
उहाँले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन । अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन ।’