काठमाडौँ, ११ पुस । सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाउनुभएको छ ।
शाहीले बिहीबारको बैठकमा कानुन बनाउने क्रममा लुप पोइन्ट (कानुनी खोट) छाड्न नहुने भन्दै कडा शब्दमा आपत्ति व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामान्य केलाई मान्ने, त्यसको त डेफिनेसन होला नि त । कानुन बनाउने भनेपछि लुप पोइन्ट छाडेर हुँदैन । यो कहीँ पनि हुँदैन ।’
उहाँले भन्नुभयो, ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा ‘सामान्य’ शब्दले कानुनलाई उल्झाउने खतरा रहेको छ । यसले तत्तविज अधिकार धेरै दिनेछ र कानुनमा खेल्ने अवसर सिर्जना गर्नेछ ।’
सांसद शाहीले विधेयकको सुधारका लागि थप समय दिनुपर्ने धारणा राख्नुहुँदै भन्नुभयो, ‘विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्दा विधेयक नै फेल हुन्छ । छलफल दुई–तीन दिन गरेर हुँदैन । दश दिन लागोस्, तर राम्रो गरी छलफल हुनुपर्छ ।’
सांसद शाहीले सुरक्षित कारोबार विधेयकमा भएका कमजोरी हटाउन आग्रह गर्दै विधेयक पास गर्दा सतर्कता अपनाउन सुझाव दिनुभयो ।