सरकारमा भएका नेताहरु बिचौलिया र दलालहरुको हातमा छन् : प्रचण्ड

52

काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति बिचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाउनुभएको छ ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका नेताहरु बिचौलियाको भूमिकामा रहेको आरोप लगाउनुभयो । उहाँले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ, नत्र राख्दैनौँ भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा रहेका राजनीतिक दलका नेताहरुको हातमा राजनीति छैन । उनीहरुको राजनीति बिचौलिया र दलालहरुको को हातमा छ भन्ने कुरा प्रष्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, बिचौलियाहरुले घुमाएर बिचौलियाहरुले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ नत्र राख्दैनौँ भनेर गरिएका मुखौटाहरुभन्दा बाहेक केही पनि देखिएन ।’

उहाँले दलाल बिचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दै अब आफूहरुले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरुको पनि आत्मसमीक्षा गर्‍यौँ । दलाल बिचौलियाहरुले त आफ्नो संख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।’

अध्यक्ष प्रचण्डले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधैँ एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...