काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हकसम्बन्धी सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट बन्चित हुनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भएको सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँगको छलफलमा भाग लिँदै उहाँले सबै नागरिकलाई सूचनाको हकबाट बन्चित नगर्न स्थानीय तह, सबै वडामा यसको प्रयोगबारे तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पछिल्लो समय सूचनाको हक प्रयोग गर्दैगर्दा प्रत्येक नागरिकले एउटा सरकारलाई र सरकारका सम्पूर्ण संयन्त्रलाई एउटा बलियो प्रतिपक्षको भूमिका प्रत्येक नागरिकले निभाउन सक्छ । तर, सूचनाको हक कसरी प्रयोग गर्ने प्रक्रिया के हो कहाँ जाने उजुरी कहाँ, निवेदन कसरी दिने भन्ने किसिमका सामान्य जानकारीसम्म नभएको अवस्था छ । देशैभरिका सबै वडामा एउटा कार्यक्रम नै ल्याएर तालिमको सिर्जना गर्नुपर्छ ।’
उहाँले संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक दिएको भएता पनि सूचनाहरु लुकाइने समस्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक राख्दछ भनेर सुनिश्चित गरेको छ । तर, सतहमा नआएका थुप्रै यस्ता विषयहरु छन् । जहाँ सूचनाहरु लुकाइन्छ । सूचना नदिइ दबाबमा राखिन्छन् । यस्तो विषयलाई सम्बोधन गर्न राष्ट्रिय सूचना आयोगको तर्फबाट कुनै निकायहरुले गएर एउटा प्रणाली विकास गर्नुपर्छ ।’