नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो, कार्यान्वयन फितलो छ : डा.अरुण उप्रेती [भिडिओ]

11

काठमाडौँ, २१ असोज । जनस्वास्थ्यविद् डा.अरुण उप्रेतीले नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो भएको बताउनुभएको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले नीतिमा लेखिएका कुराहरु व्यवहारिक रुपमा लागु नहुँदा समस्या पर्ने गरेको छ । ‘नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो छ । तर समस्या के छ भने त्यो नीतिमा लेखिएका कुराहरु व्यवहारिक रुपमा लागु भएको छैन । जस्तो जनसङ्ख्या नीतिमा हाम्रो परम्परागत ज्ञानहरुलाई ध्यान दिइने भनिएको छ तर परम्परागत ज्ञानहरुलाई कहिल्यै पनि ध्यान दिएको छैन,’ उहाँले भन्नुभयो ।

जनसङ्ख्या नीतिमा आयुर्वेदलाई महत्त्वपूर्ण स्थान दिइनेछ भनिएको भएपनि आयुर्वेदलाई कहिल्यै महत्त्वपूर्ण स्थान नदिएको उहाँको गुनासो छ । त्यस्तै, नीतिमा विभिन्न किसिमका रोगहरु रोकथाम गर्नका लगि महत्त्वपूर्ण कदमहरु चालिने छ भनेर लेखिएको भएपनि कुनै रोगको भ्याक्सिनबाहेक मुटु, कलेजो मधुमेह जस्ता रोगहरुको रोकथामको लागि प्रभावकारी काम नभएको उहाँको बझाइ छ ।

जनस्वास्थ्यका विषयमा सबैले आवाज उठाउनुपर्ने औँल्याउँदै डा.उप्रेतीले जनस्वास्थ्यको कुरा गर्दा पोषणका बारेमा बारम्बार कुरा आइरह्यो भने सरकारले पनि आफ्नो नीतिलाई व्यवहारिक बनाउन बाध्य हुने बताउनुभयो । डा.उप्रेतीले नेपालका बच्चाहरुमा कुपोषणको समस्या देखिएको उल्लेख गर्दै अविभावकहरुले आफ्ना बालबालिकाहरुलाई जंग फुड खुवाएर जिन्दगीभरिलाई सराप दिइरहेको बताउनुभयो ।

‘सुन्दा अप्रिय लाग्छ । बच्चाले जन्मेको एक वर्ष हुनेबित्तिकै चाउचाउ खान्छु, बिस्कुट खान्छु, पाउरोटी खान्छु, कुर्मुरे खान्छु भन्दैन । तर, आमाबाबुहरुले बच्चालाई विषालु माया गरेर त्यस्तो खानेकुरा बच्चाहरुलाई दिएपछि र एकचोटी बच्चाले त्यो स्वाद पाएपछि छोड्न सक्दैन । बच्चाहरुले मान्दै मान्दैनन् भनेर भन्छन्,’ उहाँले भन्नुभयो, ‘तर त्यो बच्चाहरुको समस्या होइन । समस्या अविभावकको हो । त्यसैले समस्या बच्चाहरुको होइन । समस्या आमा बुबाहरुको हो । बच्चा भविष्यमा असल र स्वस्थ्य नागरिक बनोस भन्ने विचार राख्नुहुन्छ र विभिन्न किसिमको रोग नलागोस् भन्ने चाहनुहुन्छ भने यस्तो विषालु खानेकुराहरुबाट बचाउनुहोस् ।’

डा.उप्रेतीले जंगफुड भनेको विष भएको उल्लेख गर्दै यसले बच्चाहरुलाई दीर्घकालीन रुपमा असर गर्ने बताउनुभयो । ‘आज खायो भोलि नै केही हुँदैन । तर, यसले बच्चाहरुलाई असाध्यै नराम्रो असर पार्छ । मस्तिस्क र पेटमा समस्या विस्तारै देखिन्छ । त्यसैले बच्चालाई विषालु माया होइन स्वस्थ खानेकुरा खुवाउनुहोस,’ उहाँले सुझाव दिँदै भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...