खर्च कम गर्न नयाँ नोट छापिएन, सफा नोटले काम चलाउनुपर्छ : सहप्रवक्ता पोखरेल

21

काठमाडौँ, १४ असोज । नेपाल राष्ट्र बैंकले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपाली दसैँदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ ।

सोमबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले नोट सटिङ गर्दा चलाउनयोग्य नोट धेरै हुने भएकाले सफा नोटको प्रयोगलाई अधिकतम बढाउनका साथै सटिङ, छपाइको लागतलाई कम गर्ने उद्देश्यले सफा नोटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

‘पहिला नयाँ नोट मात्र सटही हुन्थ्यो दशैंमा । तर राष्ट्र बैंकले सफा नोट नीति अवलम्बन गरेको छ । बजारमा भएको नोटहरुलाई वित्तिय संस्था र राष्ट्रिय बैंकमा ल्याइसकेपछि सटिङ गर्छौँ र चलाउन मिल्ने नोट एकतिर साथै नचल्ने अर्कोतिर राख्छौँ । अयोग्य नोटहरु जलन गर्दछौँ । सटिङ गरेका चलाउनयोग्य नोटहरु प्रशस्त मात्रमा छन्,’ उहाँले भन्नुभयो,‘त्यसैले यस पटकदेखि अब योग्य सफा नोटहरुलाई किन प्रयोग नगर्ने भनेर यसपटकदेखि तीनै नोटहरु प्रयोग गरौँ भन्ने हो । जसका कारण नोट व्यवस्थापनलाई सहज हुनेभयो र नोट छपाइमा लाग्ने लागत पनि घट्ने भयो । मुख्य त भएका सफा नोटहरु अधिकतम प्रयोग गरौँ भन्ने उद्देश्यले सफा नोट सटहीको नीति ल्याएको हो ।’

उहाँले दसैँमा आम जनतामा नयाँ नोट चलाउने बानी परेपछि खिन्न लाग्नु स्वभाविक रहेको भन्दै विस्तारै सबैलाई बानी पर्दै जाने बताउनुभयो ।

राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आइतबारदेखि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु गरेको हो । सोमबार पनि सफा नोट सटहीका लागि बिहानदेखि नै सवैसाधारणको भीड लागेको छ ।

दसैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेर नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यस्था मिलाएको हो ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । विगतका वर्षका एकपटक प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...