सहकारी प्रकरणमा कांग्रेस–एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन् : कमल थापा

22

काठमाडौँ, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठुला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हंगामा भएता पनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिनेबित्तिकै प्रकरणलाई लुकाउन खोजेको बताउनुभयो ।

उहाँले छानबिन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उहाँले प्रतिवेदनमाथि प्रश्न समेत गर्नुभयो ।

‘सहकारी ठगीको विषयमा ठुलो हो हल्ला भयो । छानबिनका लागि समिति गठन भयो । सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठुला नेताहरुको नाम आउन थाल्यो । त्यसपछि पहिले झै भ्रष्टाचारको काण्ड दबाएझैँ गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्,’ उहाँले भन्नुभयो,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ । अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ । त्यो कस्तो प्रतिवेदन हो ? जसले जे पनि बोल्न मिल्ने । रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो । जब ठुला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भनेजस्तै गरी फासफुस बनाउने काम भयो ।’

उहाँले सरकारले र सत्तामा भएका दलहरुले ठुलो तामझामकासाथ संविधान दिवस मनाएता पनि जनताको कुनै उत्साह नरहेको बताउनुभयो ।

सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुवैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उहाँले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणित भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...