काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याउनुभएको छ । उहाँले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गर्नुभयो ।
बिहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरुको उपस्थिति रहेपनि त्यो अपुग भएको उहाँले बताउनुभयो ।
उहाँले कांग्रेस र एमालेबीच किन गठबन्धन गरेको भन्ने प्रश्नको जवाफ जनतालाई चित्त बुझ्नेगरी दिनुपर्ने पनि बताउनुभयो । संविधानमा देखिएका जटिलता, चुनौती र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिंग, वर्णहरुको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।