नेपाल ओमानसँग पराजित

16

काठमाडौँ, ३ असोज । क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। ४८औँ ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पुर्‍याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे ।

शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्‍याए भने कलिमउल्लाहले विजयी चौका हाने ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा ४१ रन बनाएर अग्रणी भूमिका खेले । कश्यप प्रजापतिले ३६ रन बनाउँदै ओमानको जितको तयार पारे । नेपालका बलरहरूमा गुलशन झा सबैभन्दा प्रभावकारी साबित भए, जसले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ६० रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ५३ रन बनाए । दुवै खेलाडीको योगदानले नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍यायो ।

नेपाल र ओमानसँगै क्यानडा सहभागी यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग असोज ६ गते खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...