मानसिक समस्या भन्नेबित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन् : प्रदीप तिमल्सिना

5

काठमाडौँ, २ असोज । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उहाँले मानसिक समस्या भन्नेबित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पार्नुभयो ।

बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिइयो भने मानसिक रोग कुनै ठुलो समस्या नभएको उहाँको भनाइछ । उहाँले भन्नुभयो,‘मानसिक समस्या भनेको पागल हुनुमात्र होइन । ज्वरो आयो भन्न मिल्ने, टाउको दुख्यो भन्न मिल्ने तर मानसिक समस्या भयो भन्न नमिल्ने ? शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनुले पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्दछ । तर, भन्न सकिरहेका हुँदैनौँ, हिच्किचाउँछौँ र लुकाउँछौँ । समस्या लुकाएपछि ठिक हुने त कुरै भएन थप समस्याहरु बढिरहन्छन् । मानसिक समस्या भनेको ठुलो समस्या होइन । बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिनुपर्दछ ।’

अफिसर तिमल्सिनाले मानसिक स्वास्थ्यका बिरामीहरुमा उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने जस्ता समस्याहरु देखिने गरेको बताउनुहुन्छ ।

आफ्नो पेसाको अनुभवबारे सुनाउँदै उहाँले भन्नुभयो,‘मानसिक स्वास्थ्यका बिरामीहरु उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने गर्दछन् । त्यस्ता खालका बिरामीहरुको व्यवस्थापनको काम अष्ट्रेलियामा गर्दै आएको छु । जेलबाट छुटेर आएकादेखि आत्महत्या प्रयास गरेर अस्पताल भर्ना भएका बिरामीहरुको समाजमा व्यवस्थापन र घुलमिल गर्ने एवम निगरानी गर्ने मेरो मुख्य जिम्मेवारी हो ।’

नेपालमा अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नैराश्यता बढिरहेको तिमल्सिनाको गुनासो छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाइ र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०/१२ हजारमा काम गर्नुपर्ने वाध्यताका कारणले गर्दा नै देशमा नर्स पेसाप्रतिको आकर्षण घट्दै गइरहेको भन्ने उहाँको ठम्याइ छ ।

‘अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाइ र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०÷१२ हजारमा काम गर्नुपर्ने बाध्यताका कारण देशमा नर्स पेसाप्रतिको आकर्षण घट्दै गइरहेको छ,’ उहाँले भन्नुभयो ।

सामान्यतया नेपालीहरुले मानसिक स्वास्थ्यबारे खुलेर भन्न डराउने गरेको, मानसिक रोगीलाई समाजले हेर्ने दृष्टिकोण, आफन्त र साथीभाइले गर्ने व्यवहारको कारण पनि समस्या हुने गरेको उहाँको बुझाइ छ ।

खुलेर समस्या नभन्दै पनि कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्दैन भने त्यो मानसिक स्वास्थ्यको असरका रुपमा बुझ्न सकिने अफिसर तिमल्सिनाले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो,‘मानसिक स्वास्थ्यका बारेमा नेपालमा त्यति खुलेर भन्दैनौँ । मान्छेको स्वाभाव नै खुसी हुँदाखेरि हास्ने र दुःखी हुँदा रुने गर्छन् । तर, सधैँ हासीराख्यो भने पनि त्यसमा केही समस्या छ भनेर बुझ्नुपर्‍यो । कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्दैन भने त्यो मानसिक स्वास्थ्यको असरको रुपमा बुझ्नुपर्दछ ।’

प्रायजसो अष्ट्रेलियामा रहेका नेपालीहरुमा कामको समस्या, त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब हुने कारणले गर्दा पनि मानसिक रोगको शिकार बन्न पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

तनावलाई कम गर्न लागुऔषध सेवन गर्ने गरेकाले त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको उहाँको भनाइ छ ।

‘अष्टे«लियाका नागरिक जस्तो नेपाली नागरिकले मेन्टल हेल्थबारे कुराहरु खुलाउन चाँहदैनन् । नेपालीहरुलाई कामको समस्या छ, सजिलैसँग काम पाउँदैन । त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब रहेको हुन्छ,’उहाँले भन्नुभयो,‘त्यस्तो तनावनलाई कम गर्नका लागि मदिरा तथा लागुऔषध सेवन गर्ने समेत गरेको पाइन्छ । त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको हुन्छ । मानिस स्वास्थ्यसँग सम्बन्धित परामर्श कहाँ लिने भन्ने जानकारी नहुँदा समेत अष्ट्रेलियामा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।’

अष्ट्रेलियामा आफूले गरिरहेको कामका बारेमा सुनाउँदै तिमल्सिना भन्नुहुन्छ,‘म अनुभवी नर्स भएको कारणले मैले व्यवस्थापन गर्ने भनेका धेरै गम्भीर खालका मान्छे हुन् । मानसिक रोगी भएर औषधि सेवन गरेका बिरामीले एक्कासी औषधि खान छाडेपछि समाजमा हानी हुनसक्ने काम गर्ने भएकाले उनीहरुका लागि सहायता गर्ने हो । निगरानी र व्यवस्थापन गर्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...