काठमाडौँ, ३१ भदौ । नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घन्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् ।
सोही स्पर्धामा नेपालकी रशिला तामाङले कास्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घन्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौँ, पदमकुमारी सुनुवार आठौँ र आङ फुर्वा शेर्पा २२औँ स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १०औँ, लोकेन्द्र राईले १४औँ, फुर्पासिंह तामाङले २२औँ र मिलन राईले २७औँ स्थानमा दौड टुंगाए ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाइ दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गर्नुभयो । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।